काठमाडौं । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१० स्थित चाँगुनारायण मन्दिर जाने सडकमा रोकेर राखेको ट्रकमा मंसिर २ मा एउटा मोटरसाइकल ठोक्कियो ।
बागमती प्रदेश–०२–०२५ प ३९३७ नम्बरको मोटरसाइकल मिनि ट्रकको पछाडि ठोक्किँदा मोसा चालक रोश श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ घर भएर साँखु बस्ने २४ वर्षीय श्रेष्ठलाई सुरुमा भक्तपुर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट रिफर भएका उनको अहिले काठमाडौँको अहिले सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदैछ ।
टाउको र हातखुट्टामा चोट लागेका श्रेष्ठको उपचारमा उनकी आमा खटिएकी छन् । प्रहरीले बा.२ क ४४१० नम्बरको मिनिट्रक चालक धादिङ घर भएका ३३ वर्षीय अर्जुन तामाङलाई पक्रेर मुद्दा चलायो । ३० हजार धरौटी तिर्न नसकेर उनी डिल्लीबजार कारागारमा थुनामा छन् । उनी पुस ७ मा कारागार चलान भएका हुन् ।
अस्पतालमा घाइते श्रेष्ठ र आमा मिनि ट्रक चालकले उपचार नगरिदिएको गुनासो गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण न मिनिट्रक चालकले उपचार गरिदिन सक्छन् । नत श्रेष्ठ परिवार धक फुकाएर रकम निकाल्न र भनेजस्तो उपचार गराउन सक्ने अवस्थामा छैनन् ।
श्रेष्ठलाई अस्पतालमा पुगेर बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी र प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले भेटे ।
काठमाडौं उपत्यकामा दुर्घटनामा परेर घाइते भएका २४ जना अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । दुर्घटनामा परेर घाइते भएकाहरूको अवस्था दर्दनाक रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी अधिकारीले बताए । ट्राफिक सप्ताह मनाउने क्रममा घाइतेहरूसँग भेट्न अस्पताल पुगेका अधिकारीले भने, ‘दुर्घटना गराउने र दुर्घटनामा पर्ने दुवैको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा ठुलो समस्या देखिन्छ ।’
परिवारको सहारा नै दुर्घटनामा परेर दीर्घकालीन रूपमा स्वास्थ्य समस्या देखिएपछि परिवार झनै प्रताडित हुने गरेको अधिकारीले बताए । उनले भने, ‘त्यसैले दुर्घटना कम गराउनुपर्छ भनेर उपत्यका ट्राफिक प्रहरी लागिपरेको छ ।’
ट्राफिक सप्ताहको छैटौँ दिन उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार माइतीघर मण्डलामा दीप प्रज्वलन पनि गरेको छ । सड्क दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको हो ।
शनिबार ट्राफिक सप्ताह ठमेलमा कार्यक्रम आयोजना गरेर समापन गरिने एसपी नरेश सुवेदीले जानकारी दिए ।
