लेटाङ, मोरङ — इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सञ्चालन गरिएको छ।
मिति २०८२ साल माघ १ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने उक्त अभियान १० दिनसम्म चल्ने जनाएको छ।
अभियान लेटाङ नगरपालिका क्षेत्रभर लागू हुने गरी सञ्चालन गरिएको हो।
यस अभियानमा लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ तथा विभिन्न संघ–संस्था सहितका सरोकारवाला निकायहरूको सहकार्य रहेको छ।
इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहका अनुसार अभियानमार्फत लेटाङ नगरपालिका क्षेत्रभित्र सडक सुरक्षासम्बन्धी न्यूनतम आवश्यक तथा आधारभूत संरचना र सामग्रीहरूको उपलब्धता तथा सुनिश्चितता गरिनेछ।
साथै सडक दुर्घटना न्यूनीकरण, नागरिकको जीवन सुरक्षा सुनिश्चितता तथा सडक अनुशासन र ट्राफिक नियम पालनाको संस्कारलाई सुदृढ रूपमा प्रवर्द्धन गर्ने उद्देश्य अभियानको रहेको उनले बताए।
यसैगरी लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र लावतीले विगतमा सडक सुरक्षासम्बन्धी कार्यक्रमहरू छिटफुट रूपमा मात्र सञ्चालन हुँदै आएको उल्लेख गर्दै यसपटक भने सम्पूर्ण आधारभूत आवश्यकताहरूको पूर्ति हुने गरी एकै पटक योजनाबद्ध रूपमा अभियान सञ्चालन गरिएको बताए।
उनका अनुसार यस्तो किसिमको व्यापक र एकीकृत अभियान लेटाङ नगरपालिकाको इतिहासमै पहिलो पटक सञ्चालन गरिएको हो।
अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम, ट्राफिक नियमसम्बन्धी प्रचार–प्रसार, सडक सुरक्षासम्बन्धी सामग्रीहरूको व्यवस्थापन तथा सरोकारवाला निकायहरूबीच समन्वयात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।
