काठमाडौं । नेपाल एसबीआई बैंक लुटपाट प्रकरणमा बैंक सञ्चालन भइरहेको घरका धनी नै मुख्य योजनाकार रहेको तथ्य पुष्टि भएको छ। बैंक रहेको घरका घरधनी छबिलाल स्याङतान फरार अवस्थामा रहेका बेला बुधबार महोत्तरीको बर्दिबासबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार स्याङतानले आफ्नै घरमा रहेको बैंक लुट्ने योजना बनाइ गिरोहलाई सहयोग गरेका थिए। सोही लुटपाटमा संलग्न ‘खपाङ्गी’ भनिने स्थानीय चतुरमान बज्यु भने हालसम्म फरार रहेका छन् र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
उक्त लुटपाट घटनामा बैंकबाट ३ करोड रुपैयाँभन्दा बढी रकम लुटिएको थियो। घटनामा प्रत्यक्ष संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। साथै, लुटिएको रकममध्ये करिब २ करोड रुपैयाँ बराबरको नगद जंगलमा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार अभियुक्तहरूको खोजी तथा घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ। यो घटनाले बैंक सुरक्षासँगै घरधनीको संलग्नताले अपराध कति योजनाबद्ध हुन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।
