काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै भट्टराईले यस कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना।’
कांग्रेसमा भएको नेतृत्व परिवर्तनले देशको समग्र राजनीतिमा सकारात्मक सन्देश जाने अपेक्षा पनि व्यक्त गरेका छन्।
‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझ बलियो बनोस्,’ भट्टराईले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
