पर्सा । खुला सीमाको आडमा पर्सा जिल्लामा वर्षौंदेखि मौलाउँदै आएको अवैध हुण्डी कारोबार आज पनि उस्तै शक्तिशाली देखिन्छ। फरक यत्ति हो- पहिले तोड्ने प्रयास भयो, अहिले ढाकछोप।
२०७३ सालः जब एक एसपीले जालो च्यात्ने आँट गरे
२०७३ साल असोज महिना। तत्कालीन पर्सा प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले हुण्डीमार्फत करोडौँ रुपैयाँ ओसारपसार गर्ने संगठित गिरोहलाई सीधै निशानामा लिए। जतिबेला वीरगञ्जस्थित एक घरमा गरिएको छापामारीमा पाँच जना पक्राउ परे, नगद र चेकसहित करिब २ करोड रुपैयाँ बरामद भयो।
त्यो समयको २ करोड रुपैयाँ आजको मूल्यमा झनै ठूलो मानिन्छ। तर यही कारबाही नै श्रेष्ठका लागि भारी पर्यो। स्थानीयहरू अहिले पनि भन्छन्- ‘हुण्डीको जालो छुनु अपराधजस्तै बनाइयो। श्रेष्ठ धेरै टिक्न दिएनन्।’ छोटो समयमै उनी पर्साबाट तानिए।
तर आज पनि पर्सावासीहरू ‘त्यस्तो आँट भएको एसपी फेरि आएन’ भनेर स्मरण गर्छन्। ‘न पैसा, न घमण्ड- श्रेष्ठसँग डर थिएन,’ एक पुराना व्यवसायी भन्छन्।
आजको पर्साः हुण्डी मौलायो, कारबाही सुक्यो
समय फेरियो। तर हुण्डीको सञ्जाल पर्सामा झनै बलियो भएको छ।
स्थानीय व्यवसायी, पीडित र सुरक्षा जानकारहरूका अनुसार पर्सामा हुण्डी कारोबार अब व्यक्तिगत हैन, संगठित नेटवर्क हो। तर, प्रहरी कारबाही भने सानो रकम र साना पात्रमा सीमित देखिन्छ।
पर्सामा हुण्डीको कुरा उठ्दा भोला साह कलवारको नाम बारम्बार सुनिन्छ। उनीमार्फत करोडौँ रुपैयाँ बराबरको रकम भारत–नेपाल ओसारपसार हुने गरेको आरोप छ।
तर यति ठूलो चर्चा हुँदाहुँदै पनि उनीमाथि ठोस कारबाही नदेखिनु रहस्यमय मानिन्छ। स्थानीय स्रोतको दाबी छ- ‘हुण्डी चल्ने कारणै ‘नियमित सेटिङ’ हो।’
‘प्रचारका लागि १० लाख, मौनताका लागि करोडौँ’
१० दिनअघि, २० पुसमा पर्सा प्रहरीले १० लाख २ हजार १० रुपैयाँसहित तीन जनालाई पक्राउ गर्यो। कारबाहीको व्यापक प्रचार भयो- फोटो, विज्ञप्ति, सामाजिक सञ्जाल।
तर यहीँबाट प्रश्न उठ्छ- यदि प्रहरी नियमित, निष्पक्ष र निरन्तर रूपमा काम गर्ने हो भने पर्सामा यस्ता स्रोत नखुलेका रकम हरेक दिन फेला पर्न सक्छन्। एक स्थानीय भन्छन्- ‘समस्या पैसा भेटिनु होइन, समस्या कुन पैसामा हात हाल्ने र कुनमा नहाल्ने भन्ने चयन हो।’
स्थानीयहरूको आरोप छ- सानो रकम समातेर ‘सफलता’ देखाइन्छ। तर करोडौँ चल्ने ठाउँ ‘छुनै नसकिने क्षेत्र’ बनेको छ।
एसपी सुदिपराज पाठक : प्रश्नको घेरामा
हाल पर्सा प्रहरी प्रमुख छन् एसपी सुदिपराज पाठक। उनी गत भदौ ३१ गते पर्सा आएका हुन्। छोटो समयमै उनी विवादमा तानिनु संयोग मात्र नभएको स्थानीयहरूको बुझाइ छ।
एक पत्रकार सम्मेलनमा पाठकले भनेका थिए- ‘समस्या परे सिधै मलाई भेट्न आउनु।’ तर स्थानीयहरूको गुनासो फरक छ- ‘ठूला व्यवसायी र पहुँचवालाले भेट्छन्, सर्वसाधारण जिप्रका परिसरमै अल्झिन्छन्।’
त्यसमाथि, हुण्डीसम्बन्धी सूचना संकलनका लागि छुट्टै ‘टिप सिस्टम’ चलाइएको चर्चा पनि पर्सामा छ। एक स्थानीय भन्छन्- ‘एसपी पाठकको ध्याउन्न शान्तिसुरक्षाभन्दा कमाइ प्राथमिकतामा परेको अनुभूति हुन्छ।’
स्रोतकाअनुसार पर्सामा हुण्डी कारोबार व्यापक हुँदै गएको विषयमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको ध्यानाकर्षण भएको चर्चा छ।
पर्साको अवस्था अब केवल एक जिल्लाको समस्या होइन- यो राज्यको आर्थिक सुरक्षा, वैदेशिक मुद्रा नियन्त्रण र कानुनी शासनसँग जोडिएको गम्भीर चुनौती हो।
