समयः साँझ करिब ७ बजे
स्थानः सिन्धुली, घ्याङलेख गाउँपालिका–५, हायुटार
घटनाः बैंक लुटपाट
साँझ ढल्दै थियो। हायुटारको बजार क्षेत्र सामान्य जस्तै देखिन्थ्यो। अचानक नेपाल एसबिआई बैंक शाखाभित्र केही मिनेटमै अवस्था फेरियो। नकाब लगाएका ५ देखि ७ जनाको समूह बैंकभित्र छिरेर सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लियो र केहीबेरमै करोडौं रुपैयाँ बोकेर फरार भयो।
मंगलबार साँझ करिब ७ बजे भएको उक्त सशस्त्र लुटपाट घटनामा लुटेराहरूले सुरक्षागार्डमाथि हतियार प्रहार गरेका थिए। कर्मचारीलाई बाँधेर करिब ३ करोड ११ लाख रुपैयाँ हाराहारी नगद लुटिएको प्रारम्भिक अनुमान छ। घटनामा घाइते भएका सुरक्षागार्डको उपचार भइरहेको छ।
लुटपाटपछि भाग्ने क्रममा लुटेराहरूले फ्याँकेको केही रकम जंगल क्षेत्रमा बोरा–बोरामा फेला परेको छ। यसले लुटेराहरू योजनाबद्ध भए पनि दबाबमा भागिरहेको संकेत गर्ने प्रहरीको विश्लेषण छ।
घटनाको खबर फैलिनासाथ सिन्धुली जिल्लाभर सुरक्षा संयन्त्र सक्रिय भयो। रात नपर्दै प्रहरीले व्यापक खोज–तलासी अभियान सुरु गर्यो। लुटपाटमा प्रयोग भएको सवारीसाधनका चालकसहित एक जनालाई नियन्त्रणमा लिइएको छ। सो क्रममा नगद रकम र गाडीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सिन्धुली प्रहरीका अनुसार लुटिएको रकममध्ये १ करोड ८० लाख भेटिएको छ।
यस घटनामा सबैभन्दा उल्लेखनीय पक्ष भनेको प्रहरी नेतृत्वको सक्रियता हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी स्वयं फिल्डमा उत्रिएका छन्। घटनास्थलदेखि जंगल क्षेत्र, भित्री सडक र सम्भावित नाकासम्म उनीकै नेतृत्वमा प्रहरी टोली परिचालित छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परिसकेको एक जनाबाट प्राप्त सूचनाका आधारमा बाँकी लुटेरासम्म पुग्ने प्रयास भइरहेको छ। “सबै सम्भावित मार्ग बन्द गरेर अनुसन्धान अघि बढाइएको छ,” स्रोतले भन्यो।
बैंक लुटपाटजस्तो गम्भीर अपराधमा जिल्लास्तरीय नेतृत्व आफैं जंगल–जंगल डुलिरहेको दृश्यले स्थानीयमा प्रहरीप्रतिको भरोसा बढाएको छ। प्रहरी बाँकी लुटेराहरू छिट्टै नियन्त्रणमा आउने र लुटिएको सम्पूर्ण रकम बरामद हुने विश्वासमा छ।
सिन्धुलीको यो घटनाले अपराधको दुस्साहस त देखायो नै, प्रहरीको तत्परता र नेतृत्वको भूमिकालाई पनि स्पष्ट रूपमा उजागर गरेको छ।
