काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलंकीले मंगलबार काठमाडौंको कलंकी क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो।
कलंकी चोक नजिक आयोजित कार्यक्रममा लोकगीत, दोहोरी तथा देउडा गीतमार्फत ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको प्रस्तुति रहेको थियो भने दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो।
विशेषगरी लोकगायक पशुपति शर्माले प्रस्तुत गरेको ट्राफिक सचेतनासम्बन्धी गीतले दर्शकको ध्यान तानेको थियो। गीतमार्फत प्रवाह गरिएको सन्देशलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरेको ट्राफिक प्रहरीले विश्वास लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ नागरिकको ज्यानको सुरक्षा र सवारी दुर्घटना न्यून गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको बताए।
उनले सवारी दुर्घटना न्यूनीकरण प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता र सचेतनामा जोड दिए। उनले भने, ‘जेनजी आन्दोलनपछि हाम्रा केही भवन तथा संरचनाहरू क्षति पुगे पनि हामी नागरिकको सुरक्षाका लागि पुनः सडकमा खटिएका छौँ। हाम्रो प्रमुख उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको अमूल्य ज्यान जोगाउनु हो। यसका लागि सबैको साथ, सहयोग र सचेतना अपरिहार्य छ।’
त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सवारी दुर्घटना अन्त्य गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह–२०८२ आयोजना गरिएको जानकारी दिए। उनले सवारी चालकसँगै पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हाम्रो लक्ष्य सवारी दुर्घटना शून्य बनाउने हो। त्यसका लागि सवारी चालक मात्र होइन, पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ। सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ। सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ।’
कार्यक्रममार्फत ट्राफिक नियम पालनाको महत्त्व, हेल्मेट र सिट बेल्टको प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने, जेब्रा क्रसिङको प्रयोग तथा सुरक्षित गतिमा सवारी चलाउनुपर्ने विषयमा जनचेतना अभिवृद्धि गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
सांस्कृतिक कार्यक्रमलाई जनस्तरमा ट्राफिक सचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको जनाउँदै कार्यक्रममा विभिन्न जनप्रतिनिधि, नागरिक समाजका अगुवा, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, ट्राफिक तथा जनपथ प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो।
