सर्लाही । प्रहरीका हाकिमहरुसँग निकट सम्बन्ध रहेको दाबी गर्दै होटलमा हुलदंगा मच्चाउने एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रौतहटको चन्द्रपुर नगरपालिका–६ बेल्डी टोलका २९ वर्षीय रमेश गिरी उर्फ झनबहादुर गिरी हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गिरीले बागमती नगरपालिका–१२ कर्मैयास्थित न्यु कालिका होटल एण्ड गेस्ट हाउस मा पुगेर उपद्रव गरेका थिए। पुस २६ गते दिउँसो प्रेम घिसिङले सञ्चालन गरेको उक्त होटलमा खाजा, नास्ता तथा मदिरा सेवन गरेपछि उनले विवाद सुरु गरेका थिए।
घटनाका बेला होटलमा सञ्चालकका भाइ लालबहादुर घिसिङ उपस्थित थिए। सो क्रममा गिरीले आफू प्रहरीका हाकिमसँग नजिकको सम्बन्ध रहेको भन्दै होटलमा रहेका व्यक्तिहरूलाई डरत्रास देखाउने, अभद्र व्यवहार गर्ने र हातपातको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले गिरीलाई तत्काल नियन्त्रणमा लिएको थियो। पीडित लालबहादुर घिसिङको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले गिरीविरुद्ध अभद्र व्यवहार कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका गिरीमाथि हाल इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिएका छन्।
