दाङ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला नेता उमाकान्त भण्डारी पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१४ निवासी भण्डारीले घोराही शाखामा कार्यरत बैंक कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
कर्जा असुलीको क्रममा बैंक पुगेका भण्डारीले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उजुरीपछि प्रहरीले कारबाही अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र शाहका अनुसार भण्डारीलाई शुक्रबार पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाप्रति कडा आपत्ति जनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले कानुन हातमा लिने, कर्मचारीमाथि हिंसा गर्ने तथा बैंकिङ प्रणालीलाई नै कमजोर पार्ने कार्यमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।
युनियनले यस्ता गतिविधि बैंकिङ सुरक्षामाथि गम्भीर चुनौती भएको भन्दै आवश्यक परे ज्यानमार्ने उद्योगसम्मको अभियोग लगाउनसमेत आग्रह गरेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
