काठमाडौं । कीर्ते कागजात तयार पारेर इन्स्योरेन्स ठगीमा संलग्न भएको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार धुव्र शाहीविरुद्ध कीर्ते तथा ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
अनुसन्धानका क्रममा शाहीले हुँदै नभएको सवारी दुर्घटना भएको देखाउने नक्कली पत्र तयार गरी इन्स्योरेन्स कम्पनीमा पेश गर्न सघाएको खुलेको छ । हरि बुढाथोकी नामक व्यक्तिसँग मिलेर उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट रकम भुक्तानी गराई ठगी गरेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार नक्कली दुर्घटनाको विवरण उल्लेख गरी पत्राचार गरिँदा इन्स्योरेन्स कम्पनीका कर्मचारी बिकेश कुँवरको समेत मिलेमतो रहेको पाइएको छ । उनीहरूसँगको समन्वयमा पटक–पटक गरी करिब एक करोड रुपैयाँ बराबरको रकम गैरकानुनी रूपमा निकासा गरिएको बताइएको छ ।
घटनामा प्रयोग गरिएका दुर्घटना सम्बन्धी पत्रहरू कीर्ते भएको पुष्टि भएपछि सोही प्रहरी वृत्तले आन्तरिक रूपमा अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरी, इन्स्योरेन्स कम्पनीका कर्मचारीसहित ३१ जनाको संलग्नता देखिएको जनाइएको छ ।
प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध कीर्ते तथा ठगीसम्बन्धी मुद्दा दायर गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
