काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित ‘टोकियो सप्ताह २०२५’ मा घोषणा गरिएका सहयोग रकमहरू धमाधम संकलन हुन थालेका छन् ।
सोहीक्रममा टोकियो सप्ताह २०२५ को सहआयोजक रहेको इबारिकी नेपाली समाज, जापानले कबोल गरेको १० मान रकम सोमबार एनआरएनए जापानलाई हस्तान्तरण गरेको छ । टोकियोस्थित एनआरएनए जापानको कार्यालयमै पुगेर इबारिकी नेपाली समाजका अध्यक्ष रबिन मिजारले एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेलाई उक्त रकम बुझाएका हुन् ।
रकम हस्तान्तरणका क्रममा अध्यक्ष मिजारले सहआयोजकको भूमिकामा रहेका संघसंस्था तथा व्यक्तिहरूले कबोल गरेको सहयोग समयमै उपलब्ध गराए जापानमा निर्माण हुन लागेको नेपाली घर (नेपाल हाउस) छिट्टै साकार हुने विश्वास व्यक्त गरे ।
एनआरएनए जापानका अध्यक्ष लामिछानेले कबोल गरिएको रकम कार्यालयमै आएर हस्तान्तरण गरिएकोप्रति खुसी व्यक्त गर्दै अन्य संघसंस्था तथा व्यक्तिहरूलाई पनि प्रतिबद्धता अनुसार सहयोग रकम उपलब्ध गराउन आग्रह गरे ।
कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति एनआरएनए जापानले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।
