काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गर्न खोजिएको आरोप लगाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधि नेतृत्व परिवर्तनको पक्षमा उभिएपछि देउवाले यस्तो आरोप लगाएका हुन् ।
विकसित परिस्थितिबारे देउवाले सोमबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित निकट नेताहरूसँग छलफल गरेका थिए । सो छलफलमा देउवाले भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशनमा कुनै पनि हालतमा सहभागी नहुने अडान दोहोर्याएको एक नेताले बताए ।
‘म विशेष महाधिवेशनमा जाने कुरै छैन, पार्टी विभाजनतर्फ लगियो भने म सामना गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । नेतृत्व चयन प्रक्रिया अघि बढे आवश्यक निर्णय लिने संकेत देउवाले गरेका छन् ।
आफूनिकट करिब ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएपछि बाँकीलाई रोक्ने रणनीतिमा देउवा जुटेका छन् । यसअघि उद्घाटन सत्रमा महामन्त्री गगन थापाले नीति र नेतृत्व दुवै परिवर्तन गर्न सकिने स्पष्ट पारेका थिए ।
विशेष महाधिवेशनको बन्दसत्र सोमबारदेखि शुरू हुँदैछ ।
