काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।
सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘पूर्व सावधानी अपनाएर उहाँको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।’
खड्का पूर्वउपप्रधानमन्त्री समेत हुन् ।
