काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालले आज (सोमबार) बिहान दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई संवादका लागि बोलाएका छन्।
स्रोतले दिएको जानकारीअनुसार विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बोलाइएको छलफलमा महामन्त्रीहरू जाने-नजाने टुंगो लागिसकेको छैन। ‘उहाँहरूबाट दुवै महामन्त्रीलाई संवादका लागि प्रस्ताव आएको छ, तर जाने-नजाने अहिलेसम्म निर्णय भइसकेको छैन’, स्रोतले भन्यो।
यसैबीच सभापति शेरबहादुर देउवाको सचिवालयले भने उनी महाधिवेशनमा नजाने बताएको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ।
