काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार मध्यराति १० जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। सिफारिस सूचीको पहिलोदेखि चौथो नम्बरसम्म सिनियारिटी कायम रहँदा संगठनभित्र बढुवा प्रक्रिया पारदर्शी हुने संकेत देखिए पनि, पाँचौँ नम्बरबाटै सूची विवादको भुमरीमा फस्यो।
बरियताअनुसार रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशप्रसाद काफ्ले क्रमशः एसएसपीमा बढुवा सिफारिस भए। तर, पाँचौँ नम्बरमा रहेका अमरेन्द्रबहादुर सिंह सिफारिस सूचीबाटै हटाइए।
सिनियारिटीमा अघि भएपनि सिंहले एसपी भएपछि लामो समय युएन मिसनमा सेवा गरे, तर हालसम्म जिल्ला कमाण्ड गर्ने अवसरसमेत पाएका छैनन्। युएन मिसन अनुभव, संगठनप्रति योगदान र व्यावसायिक प्रोफाइल बलियो हुँदाहुँदै पनि, उनी एसएसपी बढुवामा अकारण बलि चढाइए।
सिंहलाई हटाएपछि छैटौँ नम्बरका श्यामसिं चौधरीलाई पाँचौँ नम्बरमा उकालेर बढुवा गरियो। त्यसपछि नकुल पोखरेल (६), दिलिप घिमिरे (७) पदमबहादुर विष्ट (८), योगेन्द्र सिंह थापा (९)र सुवासचन्द्र बोहरा (१०) सिफारिसमा परे।
तर सबैभन्दा ठूलो विवाद त्यहीँ जन्मियो, जहाँ बरियतामा धेरै पछाडि रहेका दिलीप घिमिरे (१५औँ) र योगेन्द्रसिंह थापा (१३औँ) लाई संगठनको मूल्य–मान्यता कुल्चँदै अगाडि ल्याएर बढुवा गराइयो।
घिमिरे सक्षम, थापा ‘सिस्टममै बोझ’
संगठनभित्र एसपी घिमिरे काबिल, कमाण्ड क्षमतावान् र प्रहरी संगठन हाँक्न सक्ने अधिकृतका रूपमा परिचित छन्। उनको बढुवालाई क्षमताको आधारमा स्वाभाविक मानिए पन एसपी थापाको बढुवा भने संगठनभित्रै ‘पुरस्कार कि उपहास?’ भन्ने प्रश्न बनेको छ।
थापा लामो समय कर्मचारी प्रशासन शाखामा सीमित, क्षमता कमजोर, विवादित छवि बोकेका र संगठन सुधारभन्दा चलखेलमा रमाउने अधिकृतका रूपमा चिनिन्छन्।
स्रोतका अनुसार, थापाले तल्लो तहका प्रहरी सरुवामा आर्थिक बार्गेनिङ गर्दै तराईका जिल्लामा एक सिपाही सरुवा गर्दासमेत आर्थिक चलखेल गरेका थिए। अझ प्रष्ट भाषामा भन्दा कर्मचारी प्रशासन शाखामा बसेर सरुवा–मोलमोलाइलाई ‘धन्दा’कै रूप दिएका थिए।
त्यही अधिकृतलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढुवा दिलाउन ‘विशेष चासो र दबाब’ दिएका, र बरियताभन्दा नाता भारी हुने अभ्यासलाई संस्थागत गरेका तथ्य सूचीले पुष्टि गरेको छ।
सिनियारिटीको भाषण दिने नेतृत्वबाटै बरियता लत्याइनु, बासुदेव खतिवडा, प्रजित केसीजस्ता अब्बल अधिकृतहरू हुँदाहुँदै थापा जस्तालाई बोकेर उचालिनु, आईजी कार्की शक्ति केन्द्रको दबाबसामू निरीह भएको मात्र होइन-आफ्नै मान्छे स्थापित गर्न नियम भत्काउनसमेत तयार रहेको प्रमाण बनेको छ।
तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा निस्किएको २ बढुवामा समेत छिर्न खोजेका थापा, त्यतिबेला सफल हुन सकेनन्। तर अहिले आईजी कार्की नेतृत्वमा आएपछि उनी ‘भाग्यमानी’ भन्दा पनि ‘बोकेर ल्याइएका पात्र’का रूपमा एसएसपी बढुवा सूचीमा अटाए।
बरियतामा अघि रहेकालाई हटाएर, पछाडि रहेकालाई उचालेर, संगठनभित्र क्षमताको मूल्य घटाउँदै ‘नजिकका मान्छे’ स्थापित गर्ने अभ्यासले नेपाल प्रहरीको संस्थागत साख, मनोबल र भविष्यको नेतृत्व क्षमतामा गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।
