काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना प्रक्रिया खुलाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
भर्ना हुन इच्छुक नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त फारम बुझाउन सक्नेछन्। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानव स्रोत विकास विभागका अनुसार सार्वजनिक बिदाका दिनसमेत आवेदन दर्ता गर्न पाइने व्यवस्था मिलाइएको छ।
दरखास्त फारम काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी परिसर तथा देशभरका जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न र बुझाउन सकिनेछ।
साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना हुन योग्य मानिनेछन्। आवेदनपछि प्रारम्भिक छनोट प्रक्रिया माघ ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
छनोटमा परेका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म १० दिनको अनिवार्य तालिम लिनुपर्नेछ। तालिम सम्पन्न गरेपछि निर्वाचन सुरक्षामा खटाइने कार्यअवधि ४० दिन हुनेछ।
यस ४० दिने अवधिमा निर्वाचन प्रहरीले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन्। साथै, रासन र आवतजावत खर्चबापत ८४६ रुपैयाँ तयारी खर्च, तथा ड्युटी अवधिमा ४ दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च समेत उपलब्ध गराइनेछ। पोसाक सुविधाबापत छुट्टै रकम पनि प्रहरी प्रधान कार्यालयले प्रदान गर्नेछ।
नेपाल प्रहरीले निर्वाचन सुरक्षाको मुख्य जनशक्ति निर्वाचन प्रहरी नै हुने बताउँदै योग्य नागरिकलाई आवेदन दिन आह्वान गरेको छ।

