गुल्मी । आम निर्वाचन नजिकिँदै गर्दा गुल्मी जिल्ला राष्ट्रिय राजनीतिमा आकर्षणको केन्द्र बन्दै गएको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेको बलियो पकड मानिने गुल्मीमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई पूर्व डीएसपीको नाम चर्चामा छ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पुराना नेता चन्द्र भण्डारी र एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीको सम्भावित प्रतिस्पर्धाका बीच रास्वपाबाट पूर्वडीएसपी हाल अधिवक्ता तथा रास्वपा गुल्मी जिल्ला सभापति भोजराज पाण्डेय उम्मेदवारका रूपमा अगाडि बढेका छन्।
त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्टको चुनौतीका रूपमा पूर्वडीएसपी हाल अधिवक्ता गोविन्द पन्थीको नाम चर्चामा छ। भिजिट भिसा प्रकरणमा निर्भीक भूमिका खेलेर राष्ट्रियस्तरमै चर्चा कमाएका पन्थीको उम्मेदवारीले गुल्मी मात्र होइन, देशैभर राजनीतिक तरंग पैदा गरेको छ।
रोचक संयोग के छ भने, भोजराज पाण्डेय र गोविन्द पन्थी दुबैजना नेपाल प्रहरीमा एउटै मितिमा सेवा प्रवेश गरी गत वर्ष एकै पटक अवकाश प्राप्त अधिकारी हुन्।
सेवा अवधिभर उनीहरू दुवैले संगठनभित्र उत्कृष्ट, जनमुखी र परिणाममुखी काम गरेको मूल्यांकन हुँदै आएको छ। यही योगदानका कारण उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मान र अवार्डसमेत प्राप्त गरेका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि यी दुई पूर्व डीएसपीले निर्वाचनमा विजय हासिल गरेमा, नेपालको संसदीय इतिहासमै एउटै जिल्लाबाट, एउटै सेवामितिका दुई पूर्व उच्च प्रहरी अधिकृत एकैचोटि संसद प्रवेश गर्ने दुर्लभ रेकर्ड कायम हुनेछ।
यसले गुल्मीका मतदातामा नयाँ विकल्पप्रति उत्साह थपिएको देखिन्छ। पुराना अनुहार र परम्परागत राजनीतिक शैलीबाट आजित जनताले अनुशासन, पारदर्शिता र सेवा–भावनाबाट आएको नेतृत्व खोजिरहेका बेला, पूर्व प्रहरी अधिकृतहरूको यो राजनीतिक यात्राले चुनावी परिणामलाई अप्रत्याशित दिशातर्फ लैजाने संकेत देखिएको छ।
गुल्मीमा यसपटकको चुनाव केवल दलबीचको प्रतिस्पर्धा मात्र नभई, व्यवस्थाविरुद्धको असन्तोष र नयाँ राजनीतिक संस्कृतिको परीक्षणका रूपमा समेत हेरिन थालेको छ।
