काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा पुनः बढाउने तयारी गरेको छ। गृह मन्त्रालयले तीनै जनालाई पछुवा गाडीसहित थप सुरक्षा दिने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइसकेको छ।
पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र शीर्ष नेताबीच भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरूले चुनावका लागि सुरक्षा वातावरण नबनेको र आफ्ना सुरक्षाकर्मी फिर्ता लगिएको गुनासो गरेका थिए। प्रधानमन्त्री कार्कीले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले तयारी थालेको हो।
यसअघि असोज २३ गते केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार मापदण्डभन्दा बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गरिँदा प्रचण्ड र ओलीको सुरक्षा टोली ठूलो संख्यामा घटाइएको थियो भने देउवाले सीमित सुरक्षा मात्रै लिँदै आएका थिए। सुरक्षा कटौती र नेतृत्व तहसमेत घटाइएपछि तीनै पूर्वप्रधानमन्त्री असन्तुष्ट थिए।
अब सरकारले सुरक्षाकर्मीको संख्या र व्यवस्थापन दुवै पुनः सन्तुलनमा ल्याउने तयारी गरेको गृह स्रोतले जनाएको छ।
