काठमाडौं । बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट व्यापक रूपमा चोरी–तस्करी भइरहेको सुचना प्राप्त भएको छ।
सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलका डीएसपी कमाण्डमा गुल्म स्थापना गरिएको भए पनि यही गुल्म मातहतका नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान तस्करी हुने गरेको स्रोतको दाबी छ।
गुल्मको नेतृत्व सशस्त्र प्रहरी बलका डीएसपी दिपेन्द्र गौलीले गरिरहेका छन्।
गुल्म मातहत ६ वटा बिओपी तथा केही फरवार्ड बेस सञ्चालनमा छन्।
कण्डपुरस्थित गुल्म मातहत फुटाहा , सानुडाँफे , जमुनी, गणेशपुर . कालाबन्जरा र कट्टी लगायतका बिओपी तथा फरवार्ड बेस रहेका छन् ।
यीमध्ये जमुनी, कालाबन्जरा र कट्टी बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड र फुटाहा, सानुडाँफे र गणेशपुर बिओपीमा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा सुरक्षा फौज परिचालित छन्।
गुल्मको क्षेत्राधिकार मातहत पर्ने भारतीय सीमावर्ती क्षेत्रमा फुटाहा र लोकाही बजार पर्दछन्। यी बजारहरू भारततर्फका ठूला व्यापारिक केन्द्रका रूपमा चिनिन्छन्। दैनिक उपभोग्य वस्तु, कपडा, किराना, इलेक्ट्रोनिक्स तथा अन्य करयोग्य सामग्रीहरू यही बजारबाट नेपालतर्फ अवैध रूपमा भित्रिने गरेको स्रोतको भनाइ छ।
स्थानीयका अनुसार तस्करीमा संलग्न हुनेहरूमा बाँकेको कोहलपुर र बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रका व्यापारी तथा कारोबारीहरूको संलग्नता बढी रहेको बताइन्छ।
भारतबाट ल्याइएका सामानहरू फुटाहा–गणेशपुर हुँदै मैनापोखर र बाँसगढी निस्किएर महेन्द्र राजमार्ग जोडिने गरेको जनाइएको छ।
यही मार्गलाई तस्करहरूले सुरक्षित मार्गका रूपमा प्रयोग गर्ने गरेको आरोप छ।
सशस्त्र प्रहरी बलका असई सोम शर्माको नाम विशेष रूपमा चर्चामा आएको छ। स्रोतका अनुसार गुल्म प्रमुख डीएसपी दिपेन्द्र गौलीले असई शर्मालाई घुमुवा प्रहरीको रूपमा परिचालन गरेका छन्।
असई सोम शर्मा यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्।
उनी विगत धेरै वर्षदेखि बाँके जिल्लामा सशस्त्र प्रहरी बलको गणमा कार्यरत रहँदै आएका थिए। सो अवधिमा उनी सशस्त्र प्रहरी गणका एसपीका घुमुवा र पछि बिओपी जैसपुरमा कार्यरत रहँदै डिआइजीका घुमुवा का रूपमा परिचालित थिए।
बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट भइरहेको भनिएको तस्करी, त्यसमा सशस्त्र प्रहरी गुल्मका अधिकारी र घुमुवा प्रहरीको भूमिकाबारे उठेका आरोपले सीमा सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
