वीरगन्ज । यातायात कार्यालयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएर अवैध रकम (घुस) लेनदेन हुने गरेको घटना नौलो होइन ।
त्यस्तै घटना यातायात व्यवस्था कार्यालय वीरगन्जको हाकिमले १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिएर सवारी चालक अनुमति पत्र बिक्री गर्ने गरेको खुलासा भएको छ।
यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कुशेश्वरा शाह हुन् । साह तत्कालीन मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय यादवको आशीर्वादले यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख भई आएका हुन् । प्रमुख साहले चैत १५ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेका छन् ।
साह आएको दिनदेखि नै यातायात कार्यालय वीरगन्जमा पैसाको चलखेलमा धमाधम ट्रायल र लिखित परीक्षामा फेल भएकाहरूलाई पास गराउँदै आएको आरोप छ । ९ महिनादेखि वीरगन्जको प्रमुख भई आफ्नो विश्वासपात्रहरूको माध्यमबाट रकम बुझेर धमाधमा फेल भएकाहरूलाई पास गराउँदै आएका छन् ।
शाहको विश्वास पात्र बद्री दाहालले आर्थिक आतंक नै मच्चाएका छन्। सेवाग्राहीहरू दाहाल र कर्मचारीहरूको आर्थिक आतंकबाट आजित बनेका छन् ।
साह विगतको दिनमा सवारी फाँटको प्रमुख रहँदा अर्काको पिकअप गाडीलाई नक्कली कागजातमार्फत बिक्री गरेका थिए । गाडी नै बिक्री गरेको समाचार प्रकाशित भएपछि साह विवादित बनेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि माथिल्लो निकायसम्म सेटिङ्ग रहेको भन्दै साहले फेल भएका सेवाग्राहीबाट आफ्नो विश्वासपात्र र बिचौलियाहरुबाट १० हजारदेखि लाखौं रुपैयासम्म असुली गरि मोटरसाइकल देखि हेभी लाइसेन्स समेत धमाधम बेच्ने गरेको आरोप लागेको छ।
यातायात कार्यालय वीरगन्जको प्रमुख साहको लाईसेन्स किनबेचको अवैध धन्दामा ट्रायल शाखाका प्रमुख, लिखित शाखाका प्रमुख र ट्राफिकका बरिस्ठ सई गोकुर्ण खुकुरेलको मिलोमतोमा हुने गरेको छ।
सई खुकुरेल ‘सेटिङ’
यस अवैध कारोबारको केन्द्रमा ट्राफिक प्रहरी कार्यालय पर्सामा विगत ३ बर्षदेखि कार्यरत बरिस्ठ प्रहरी नायब निरीक्षक (सई) गोकर्ण खुकुरेल रहेको आरोप छ।
यातायात कार्यालय पर्साका प्रमुख साह र बरिस्ठ सई खुकुरेले बिचौलियामार्फत रकम असुली गरी धमाधम लाइसेन्स बेच्दै आएको स्रोतहरूको दाबी छ।
खुकुरेल तीन बर्षदेेखि पर्सा जिल्ला ट्राफिक कार्यालयमा हाकिमको नजिक भई बस्दैआएका छन्। ट्राफिक प्रहरी कार्यालय पर्सामा र यातायात कार्यालय वीरगन्जमा कार्यालय प्रमुखपछि खुकुरेलको निर्देशन चल्दै आएको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन्।
खुकुरेल ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी निरीक्षकका विश्वासपात्र भएकोले ट्रायल सेन्टरमा उनको प्रभाव र दबदबा अत्यधिक रहेको बताइन्छ। स्रोतका अनुसार उनी जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बस्ने र त्यहीँबाट आर्थिक लाभ लिँदै आएका छन्।
नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘यातायात कार्यालयमा प्रमुखपछि दोस्रो स्थानमा सई खुकुरेलको नै चल्छ। ट्रायल सेन्टरमा कसले पास हुने, कसले फेल हुने भन्ने धेरै हदसम्म उनीकै हातमा छ।’
ट्रायल सेन्टरमा पास भएकाहरूलाई पनि ट्राफिक प्रहरीको सहयोगले फेल समेत गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ । सई खुकुरेल फेल भएकाहरूलाई पैसा लिई पास गराउने गरेको आरोप छ ।लिखित परीक्षा र ट्रायल परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुन्छ ।
ट्राफिक प्रहरीले नचाहने हो एउट सिन्को पनि हलिन्न । तर, ट्राफिक प्रहरी कार्यालयका मधेश प्रदेश प्रमुख एवम् जिल्ला प्रहरी ट्राफिक कार्यालय पर्साका प्रमुखहरूको मिलोमतोमा भष्टचार बढेको आरोप छ ।
बिचौलिया, दलालहरूसँग मिलेर ट्रायल सेन्टरमा सिसी क्यामेरा जडान भएपनि सिसी टिभी क्यामेरा रेकर्डिङ भएका भिडियोहरूलाई इडिटिङ्ग गरि हटाउने गरेको स्रोतले जनाएको छ ।
लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिएपछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने तथा पास गराउने गरेको एक कर्मचारीले बताएका छन् ।
स्कुटर, ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपियाँसम्ममा बिक्री भइरहेको आरोप छ । ट्रायलमा फेल भएकाहरूलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ ।
जे१ एक्साभेटर, जे२ ब्याकहोइ लोडर, जे३ ग्रडर, जे४ फोर्कलिफ्ट, एच१ डोजर, एच२ रोड लोडर, आई१ क्रेन, आई२ फायर ब्रिगेड, ई३ लोडरलगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घुसको रकम संकलन गरिएको स्रोतले जनाएको छ ।
अबैध आर्थिक लेनदेनको कारोबारमा प्रमुख साहका विश्वासपात्र ट्रायल प्रमुख र ट्रयाक्टर फाँट तथा लिखित प्रमुख बद्री दाहाल र दर्जनभन्दा बढी दलालको टोली सक्रिय रहेको पीडितहरूको भनाइ छ ।
दाहाल करिब १६ वर्षको जागिरे जीवनमा करिब १२ वर्ष यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत छन् । केही वर्ष पहिला दाहाललाई आर्थिक अनियमिता गरेको आरोपमा अख्तियारले ४ वर्षको लागि निलम्बन गरेको थियो ।
दाहाल पावर लगाएर पुनः यातायात व्यवस्था कार्यालय वीरगञ्जमा फर्किएका हुन् । यातायात कार्यालय वीरगन्जको प्रमुख कुशेश्वर साहको बिश्वासपात्र दाहाल रहेका छन्।
लाइसेन्स सम्बन्धमा अख्तियारले अन्य ठाउँमा छानबिन गरेता पनि यातायात व्यवस्था कार्यालय वीरगञ्जका लागि मौन बसेको सेवाग्राहीहरूको गुनासो छ । सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा स्टिङ्ग अप्रेशन सञ्चालन गर्न माग गरेका छन् ।
प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय वीरगञ्जका कार्यालय प्रमुख साहसँग सम्पर्क गर्दा उनले नम्बरमा कल फर्वाड गरेकाले फोन सम्पर्क हुन सकेन ।
