काठमाडौं । दुई अत्याधुनिक पेस्तोल, गोली र म्यागजिनसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट लुकाइछिपाई राखिएको अवस्थामा उक्त हतियार बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५, डल्लु निवासी ३२ वर्षीय ‘झिल्के’ भनिने विकास शाही, मोरङ, लेटाङ नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय शाहिल तिवारी र बाफल निवासी ३३ वर्षीय जस्वन भनिने अश्विन राई रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा अत्याधुनिक पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि हतियार ओसारपसार तथा अवैध भण्डारण सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
