काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई मिलाएरै छाडेको दाबी गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि तीनै जना नेताहरूलाई एकै ठाउँमा ल्याउन आफूहरू सफल भएको बताएका हुन् ।
गुरुङले स्टाटससँगै आफूबीचमा बसेर रवि लामिछाने र कुलमान घिसिङसँग खिचिएको फोटोसमेत सार्वजनिक गरेका छन् । उनले आगामी निर्वाचनमा रवि लामिछाने, कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँगै लड्ने सुनिश्चित भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘गोरखा बाटा खाएको कसम पुरा । हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोड्यौं। इतिहासले सम्झनेछ- रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहमति भइसकेको भए पनि कुलमान घिसिङसँग पदीय भागबन्डाका विषयमा कुरा नमिल्दा सहकार्य अन्योलमा परेको थियो । तर आज सहमति भएको हो । कुलमान रास्वपाको उपसभापति बन्ने गरी सहमति भएको बताइएको छ ।
