काठमाडौं । सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा सरुवा गर्ने निर्णय गरेको हो।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दंगाललाई रक्षा सचिवबाट सरुवा गरी गृह सचिवको जिम्मेवारी दिएको थियो। तर अल्प समयमै उनलाई गृह मन्त्रालयबाट हटाइएको छ।
दंगालको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवको जिम्मेवारी दिइएको छ। श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए भने त्यसअघि लोक सेवा आयोगका सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।
यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दीपक काफ्लेलाई दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।
सरकारको यो सरुवालाई प्रशासनिक पुनःसंरचना तथा कार्यसम्पादन सुधारको प्रयासका रूपमा हेरिएको छ।
