काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दार बलबहादुर थापा बुद्धनगरस्थित डेराको कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय थापा आफ्नै कोठामा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
थापालाई झुण्डिएको देखेपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार थापाको मृत्युबारे घटनास्थल मुचुल्का, प्रारम्भिक जाँच तथा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइएको छ । घटनाको कारण, समय, परिस्थिति र सम्भावित मनोसामाजिक पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
