सुनसरी । सुनसरीको इटहरीमा उपचारका लागि झरेकी एक वृद्ध महिलाको हत्या भएको छ । भोजपुरको दिङ्लाबाट श्रीमानसहित उपचार गराउन इटहरी आएकी पबीमाया बयलकोटीको हत्या उनकै ज्वाइँ गणेश साह गुप्ताले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीकाअनुसार आइतबार राति पबीमायाको टाउकामा पानी तान्ने ट्युबेलको हेण्डलले प्रहार भएको अवस्थामा शव फेला परेको हो । उपचारपछि सोमबार घर फर्किने तयारीमा रहेकी पबीमायाको एक दिनअघि नै हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पबीमायाकी छोरी र ज्वाइँबीच केही समययता घरायसी विषयमा बारम्बार विवाद हुँदै आएको थियो । झगडा मिलाउन र सम्झाउन खोज्ने क्रममा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप कारण, परिस्थिति र अन्य पाटोबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
