काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरी चेकजाँचका क्रममा भाग्न खोज्ने एम्बुलेन्समाथि १ राउण्ड गोली फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
१३ पुस राति करिब २३ः०० बजे ‘एम्बुलेन्समा गाँजा लुकाएर ल्याइँदैछ’ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी (ईप्रका) र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेर जाँच गरेको थियो ।
प्रहरीलाई देख्नेबित्तिकै चालकसहित सवार व्यक्तिहरू गाडी छाडेर भाग्न खोजेपछि नियन्त्रण लिन प्रहरी सहायक निरीक्षक (असईं फजिन्द्र तोलाङगीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि एम्बुलेन्स र त्यसमा लुकाइएका १६ पोका गाँजा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सूचनाका आधारमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजिव गिरी नेतृत्वको ईप्रका बेलबारीको टोली र असई तोलाङगी नेतृत्वको ईप्रका केराबारीको टोलीले अपरेशन सञ्चालन गरेको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि ईप्रका बेलबारी ल्याइएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा धनकुटा, शहीदभूमि गाउँपालिका–६का ३५ वर्षीय निश्चल राई र मोरङ, सागुरीगढी गाउँपालिका–२,का २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् । जसमध्ये राई एम्बुलेन्स चालक हुन् भने लिम्बु एम्बुलेन्समा सवार व्यक्ति हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाबारे जानकारी दिँदै भने, ‘एम्बुलेन्सजस्तो संवेदनशील सेवा साधनलाई अपराधमा दुरुपयोग गर्ने कार्य गम्भीर हो । यस्ता घटनामा प्रहरी कठोर ढंगले प्रस्तुत हुन्छ, अनुसन्धान जारी छ । दोषीमाथि कानुनी कारबाही हुन्छ ।’
एम्बुलेन्स प्रयोग गरेर लागुऔषध ढुवानी गर्ने नयाँ प्रवृत्तिले सुरक्षा चुनौती थपिएको भन्दै मोरङ प्रहरीले निगरानी र चेकजाँच अझ कडा पारिने जनाएको छ ।
