काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । सुरक्षाकर्मीहरूको कार्य–सफलतामा नागरिकहरूको अपार समर्थन प्रमुख आधार भएको उल्लेख गर्दै उनले समुदायसँगको साझेदारीले मात्रै सुरक्षित समाज निर्माण सम्भव हुने बताए ।
काठमाडौंको बसन्तपुरमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले आयोजना गरेको ‘हाम्रो प्रहरी’ कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले भने, ‘यो अभियान नेपाल प्रहरीको मात्रै होइन, नागरिक र प्रहरीको साझा प्रयास हो । यस्तै सहकार्यले मात्र सुरक्षित समाज सिर्जना गर्न सफलता दिन्छ ।’
‘हाम्रो प्रहरी’ कार्यक्रम भदौ २३–२४ मा भएको ‘नव पुस्ताको आन्दोलन’ पश्चात नेपाल प्रहरीले अघि बढाएको सामुदायिक–प्रहरी साझेदारी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको हो । अपराध नियन्त्रण, अनुसन्धान, नागरिक सुरक्षा, विपद् उद्धार, सामाजिक सद्भाव र अमनचयनका क्षेत्रमा नेपाल प्रहरीको भूमिका नयाँ पुस्तासम्म स्थापित गराउने अवधारणाअनुसार कार्यक्रम आयोजना गरिएको परिसरले जनाएको छ ।
कार्यक्रममा आईजीपी कार्कीले प्रहरी सद्भावना दूतहरूलाई अभियान–ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुनःनिर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।
समारोहकै क्रममा सामुदायिक सेवा केन्द्र महांकालको समन्वयमा विभिन्न समाजसेवी, व्यवसायी तथा स्थानीय नागरिकको सहयोगबाट प्राप्त १ थान टोयोटा हाइस गाडी आईजीपी कार्की र केन्द्रका अध्यक्ष विकासभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गरे ।
सामुदायिक सौहार्दपूर्ण व्यवहार र नागरिकको सहयोगले प्रहरीलाई टोल–बस्तीमा सेवा दिन थप प्रेरणा मिल्ने उल्लेख गर्दै आईजीपी कार्कीले विगतका कमजोरी सुधार गर्दै नागरिककै सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन र कानुनी शासन स्थापनामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताए ।
