काठमाडौं । प्रहरी नेतृत्व सम्हालेको दुई दिनमै एआईजी र ९ दिनभित्रै डीआईजी बढुवा निकालेर ‘बरियता पालना’को सन्देश दिएका आईजीपी दानबहादुर कार्की यतिबेला आफ्नै संगठनभित्र फरक प्रश्नको केन्द्रमा छन्- प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा चाहिँ किन रोकियो?
यसअघि कात्तिक १७ मा तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको पालामा ५ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा पहिलो वरियताका अधिकारी छुटाइएपछि नेतृत्वमाथि ‘सेटिङ’को आरोप लागेको थियो । त्यसको ९ दिनपछि (कात्तिक २६) कार्कीले आईजीपीको कमाण्ड सम्हाले ।
कमाण्ड सम्हालेकै दुई दिनमै रिक्त एआईजीमा ईश्वर कार्की र मंसिर १ मा डीआईजीमा विश्व अधिकारीलाई बढुवा गरे । तर, मंसिर २ गतेदेखि ७ वटा एसएसपी दरबन्दी रिक्त भए पनि डेढ महिनासम्म बढुवा सूची ननिकालिँदा प्रहरी प्रधान कार्यालयभित्र शक्तिकेन्द्रको दबाब मुख्य कारण हुनसक्ने चर्चा चुलिएको छ ।
रिक्त ७ एसएसपी पदका लागि १७ प्रतिस्पर्धीबीच कडा दौड छ । जसमा ३ विभागीय र १४ खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएका ब्याच समावेश छन् ।
बढुवा वरियताको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रोमा भुवनेश्वर तिवारी छन् । (शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण) र तिवारी (२०५५ मा असईबाट सेवा प्रवेश) छन् । बाँकी १४ अधिकृत २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका हुन्, जसका २५ सिनियर अधिकारीहरू एसएसपी भइसकेका छन् ।
त्यसमध्ये काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा यही ब्याचबाट पहिलो नम्बरमा बढुवा भएका थिए ।
हाल रिक्त रहेको एसएसपीका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल छन् । कँडेल इन्स्पेक्टर भर्नाका अलराउण्ड टप अफिसर हुन् । यद्यपि, एसपी बढुवादेखि उनी पछि परेका थिए । हाल कँडेल कपनस्थित केन्द्रीय विशेष कार्यदलको प्रमुख हुन् ।
त्यस्तै चौथो नम्बरमा छन् एसपी सुरेश काफ्ले । संयुक्त राष्ट्रसंघको मिसनमा लामो समय काम गरेका काफ्ले अहिले सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रमुखको रूपमा कार्यरत छन् । प्रहरी संगठनमा काफ्लेलाई इमान्दार अधिकृतको रुपमा चिनिन्छ ।
त्यसैगरी अमरेन्द्रबहादुर सिंह एसएसपी बढुवाको लागि पाँचौं नम्बरमा छन् । प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका सिंहले हालसम्म जिल्ला कमाण्ड गरेका छैनन् । यस्तै छैटौं नम्बरमा श्यामसिंह चौधरी छन् । चौधरी प्रविधि परिचालन र जोखिमपूर्ण कार्यका निम्ति अब्बल मानिन्छन् ।
क्रमशः सातौं आठौं, नवौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं, चौधौं, पन्ध्रौं, सोह्रौं, नम्बरमा छन्, नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही ।
जसमध्ये भदौ २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूह प्रहरी प्रधान कार्यालयभित्र प्रवेश गर्न खोजेपछि नवौं नम्बरमा बोहोरा नेतृत्वको टिमले प्रधान कार्यालय जोगाएको थियो । त्यसबेला बोहरा नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ को इन्चार्ज थिए । अहिले उनी मकवानपुरको प्रहरी प्रमुख हुन् ।
यस्तै प्रतिस्पर्धीमध्ये बाह्रौं नम्बरका सिलवाल पथलैया ट्राफिकमा रहँदा विवादमा मुछिएका कारण कारबाहीमा छन् । उनी संगठन बाहिर देख्दा हक्की स्वभावका देखिएपनि आन्तरिक रुपमा आर्थिक अनियमिततामा मुछिएका अधिकृत हुन् ।
त्यसैगरी रौतहट जिल्लाको सफल कमाण्ड सम्हालेका पन्ध्रौं नम्बरका एसपी घिमिरे प्रहरीमा काबिल र कमाण्ड क्षमता भएका अधिकृतको रूपमा चिनिन्छन् । त्यसमध्ये उक्त ब्याचका पोखरेल, बिष्ट, खतिवडा, केसी, थापा, श्रेष्ठ र शाही व्यावसायिक प्रहरी कार्यमा कहलिएका अधिकृत मानिन्छन् ।
सरुवा र बढुवाको समय निर्वाचन आयोगको आचारसंहिता लागू हुन नजिकिँदै जाँदा प्रहरी नेतृत्वमाथि दबाब अझ बढ्ने देखिन्छ । फागुन २१ मा सरकारद्वारा चुनाव मिति घोषणा भइसकेकाले, सुरक्षा संगठनलाई चुस्त बनाउन चुनावअघि नै एसएसपी बढुवा निकाल्नुपर्ने बाध्यता कार्कीमाथि छ ।
यदि बढुवा प्रक्रिया चुनावपछि धकेलियो भने, १७ एसपीबाटै चर्को दबाब आईजीपीले खेप्नुपर्ने प्रहरी उच्च स्रोत बताउँछ ।
