काठमाडौं । चार वर्षअघि विभाजनको बाटो रोजेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई धार अन्ततः फेरि एउटै राजनीतिक शक्तिमा रूपान्तरण हुने भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको औपचारिक घोषणा पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने तय भएको छ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत लिङ्देनसँग हात मिलाएको तस्वीर सार्वजनिक गर्दै एकताको जानकारी दिएका छन्। तस्वीरसँगै उनले देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण, भ्रष्ट व्यवस्थाबाट मुक्ति, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाका एजेन्डामा दुवै पार्टी एकजुट भएर अघि बढ्ने साझा संकल्प व्यक्त गरेका छन्।
एकता घोषणासभाको तयारी तीव्र बनाइएको छ। कार्यक्रममा नागरिक समाज, कार्यकर्ता, युवा, कलाकार तथा विभिन्न क्षेत्रका समर्थकहरूको उल्लेख्य सहभागिता रहने राप्रपा नेपालनिकट एक नेताले जानकारी दिए।
राजनीतिक वृत्तमा यो एकतालाई राजावादी र राष्ट्रवादी शक्तिहरूको पुनरागमनको नयाँ केन्द्र, विभाजित मतलाई एउटै ध्रुवमा ल्याउने प्रयास र आगामी निर्वाचनअघि राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पार्ने कदमका रूपमा हेरिएको छ।
नेतृत्वको हात मिलाइले दिएको सन्देश स्पष्ट छ- विगतका तिक्तता थाती राख्दै, अबको राजनीति साझा मुद्दा र साझा यात्राको आधारमा अघि बढ्नेछ। राप्रपाको अबको अध्याय केवल संगठनको एकता होइन, राष्ट्रवादी आवाजको पुनर्मिलनको कथा बन्ने अपेक्षा गरिएको छ।
