काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी इतिहासकै सबैभन्दा कठिन बिहानमा उठेको थियो- आगोको धुवाँ सेलाइसकेको थिएन, ९७ प्रहरी कार्यालय भत्किएका थिए, १५५ सवारी जलेका थिए, मुद्दाका फाइल खरानी बनेका थिए । अझ भनौं प्रहरीको संरचना ढलेको थियो तर भरोसा भने ढलेको थिएन ।
अकल्पनीय क्षतिको भोलिपल्ट, डण्डा बोकेका हात होइन- सिमेन्ट बोकेका नागरिकका हात बसन्तपुर, थिमी, बौद्धलगायत टोल–टोलका प्रहरी भवनमा पुगे । खरानी पन्छाउँदै, इँटा मिलाउँदै, झ्याल जोड्दै, नागरिक आफैँले प्रहरीलाई उभ्याउन थाले ।
त्यही दृश्यले प्रहरी संगठनभित्र नयाँ मनोबलको आगो बाल्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा भन्छन्, ‘हामीले त्यही दिन बुझ्यौँ-प्रहरीका भवन जले पनि, प्रहरीप्रतिको अपनत्व अझै जीवित छ । नागरिकले ‘हाम्रो प्रहरी’ भनेपछि हामी फेरि उठ्न बाध्य थियौँ ।’
नागरिकको श्रमदानबाट हालसम्म ८६ प्रहरी भवन मर्मत भइसकेका छन् । ‘पसिना र आँशुले सिञ्चन गरिएको श्रमदानले प्रहरीलाई कर्तव्यपथमा फर्किने ऊर्जा दियो,’ एसएसपी थापा भन्छन्, ‘अब यी कार्यालय तोडिन र ढल्न होइन- सुरक्षाको बलियो किल्ला बन्न उभिएका छन् । त्यसैले यो अभियानको नाम नै ‘हाम्रो प्रहरी’ राखेका हौँ ।’
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आइतबार बसन्तपुरमा आयोजित समारोहमा अभियानको उद्घाटन गरे । तर अभियानको असली उद्घाटनकर्ता भने त्यो दिनका नागरिक नै थिए, जसले बर्दीभन्दा अघि बढेर प्रहरीको छानो बनाइदिए ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत थालिएको यस अभियानमा प्रहरी भवन पुनर्निर्माणमा श्रमदान गर्ने स्थानीय निकायका प्रतिनिधि, सामाजिक अगुवा र अभियन्तालाई सम्मानसमेत गरिएको छ ।
एसएसपी थापाले नागरिकको योगदानलाई सलाम गर्दै भने, ‘नागरिकले ‘हाम्रो प्रहरी’ भनेपछि प्रहरी फेरि ‘कर्तव्य मेरो’ भनेर फर्कियो । यो साझेदारी अबको पुस्तासम्म चल्ने संकल्प हो ।’
यो अभियान केवल भवन मर्मत होइन- भत्किएको आत्मविश्वास मर्मत गर्ने, नागरिक–प्रहरी सम्बन्ध अझ बलियो सिमेन्टले जोड्ने, र प्रहरीलाई समाजकै अभिन्न संरक्षकका रूपमा पुनर्स्थापित गर्ने नयाँ कथा हो ।
उद्घाटन समारोहमा सुनिता डंगोलदेखि पारस खड्कासम्मको उपस्थिति
उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र किरण केसी, संगीतकार योगेश्वरप्रसाद अमात्य, क्यान सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता थियो ।
यसैगरी, विभिन्न नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, वडाध्यक्षहरू, प्रशासकीय अधिकृतहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरू, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, नागरिक समाज, युवा अभियन्ता, कलाकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी, तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी–समुदाय साझेदारीलाई मजबुत बनाउन योगदान दिएका स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा अभियन्ताहरूलाई सम्मानसमेत गरिएको थियो । अभियानको सुरुवातसँगै सहभागीहरूले प्रहरीप्रति नागरिकको अपनत्व र सुरक्षाप्रति सामूहिक जिम्मेवारी अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि आईजीपी कार्कीले काठमाडौँ प्रहरीका संरचना पुनःसम्भार र पुनर्स्थापनामा सहयोग गर्ने ५१ जना प्रतिनिधिमूलक व्यक्तिहरूलाई सम्मानस्वरूप कदर–पत्र (कदर पत्र) प्रदान गरे ।
साथै, काठमाडौंका सबै क्षेत्रको प्रतिनिधित्व झल्किने गरी +२ तहमा अध्ययनरत १६ जना विद्यार्थीलाई ‘प्रहरी सद्भावना दूत टिम’ घोषणा गर्दै उनीहरूले अभियानको सन्देश समाज र युवा पुस्तासम्म पुर्याउने जिम्मेवारीसहित सद्भावना दूत ब्यानर हस्तान्तरण गरे ।



