काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले आफ्नो पदावधि समाप्त भएसँगै संसद् सचिवालयलाई सरकारी गाडी फिर्ता गरेकी छन् । आइतबार उनले आफूले प्रयोग गर्दै आएका दुईवटै गाडी सचिवालयका कर्मचारीलाई औपचारिक रूपमा बुझाएकी हुन् ।
गाडी फिर्ता गरेसँगै उनले गाडीका साँचोसमेत संसद् सचिवालयलाई हस्तान्तरण गरिन् । त्यसपछि भने राज्यबाट प्राप्त सुविधाको औपचारिक अध्याय टुंग्याउँदै उनी ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएकी थिइन् । पदमा रहँदाको सरकारी सवारी छाडेर सर्वसाधारणझैँ ट्याक्सीमा निस्किएको दृश्यले त्यहाँ उपस्थित धेरैको ध्यान खिचेको थियो ।
संविधानअनुसार, सभामुख र उपसभामुखको कार्यकाल उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म कायम रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले भने समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मात्रै मनोनयन दर्ता मानिने स्पष्ट प्रावधान राखेको छ ।
निर्वाचन आयोगका अनुसार आइतबारदेखि समानुपातिक बन्दसूची बुझाउने प्रक्रिया सुरु भइसकेको छ । आयोगले आजसम्म बन्दसूची बुझाउने समय निर्धारण गरेको छ । सोही संवैधानिक र कानुनी प्रक्रियाअनुसार उपसभामुख रानामगरको कार्यकाल पनि अब औपचारिक रूपमा सकिएको हो ।
पदबाट बिदा हुँदै गर्दा सरकारी सुविधा तुरुन्त फिर्ता गरी सार्वजनिक नैतिकता र पारदर्शिताको सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा समेत उनको कदमको प्रशंसा भइरहेको छ ।
