मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको कडा निर्देशनपछि मोरङमा लागूऔषधविरुद्धको अभियान तीव्र बनेको छ।
सोही अभियानअन्तर्गत नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको २८० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार १२ मंसिर राति करिब १२ः३० बजे मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सडकखण्डमा एसपी कटुवालकै निर्देशनमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा ठूलो परिमाणको गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले सवारीसाधनमार्फत भारततर्फ लैजान लागिएको अवस्थामा गाँजा नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गाँजा कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो। पक्राउ पर्नेमा भारत, जिल्ला अररिया- ६ निवासी २५ वर्षीय अब्दुल रहमान र अररिया- ५ निवासी ३० वर्षीय मोहम्मद इस्माइल रहेका छन्।
एसपी कटुवालले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै नियमित गस्ती, सूचना संकलन र कडाइका साथ चेकजाँच गर्न मातहत निकायलाई स्पष्ट ‘निर्देशन’ दिएका थिए।
सोही रणनीतिअनुसार मोरङ प्रहरीले पछिल्लो समय एकपछि अर्को सफलता हात पार्दै आएको स्रोतको भनाइ छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
