काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
मुख्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केही प्रहरी असोज महिनादेखि र केही कात्तिक महिनादेखि कुनै जानकारी नदिई गैरहाजिर रहेको जनाएको छ । प्रहरी संगठनले उनीहरूको खोजतलास, कानुनी प्रक्रिया तथा प्रहरी नियमावलीबमोजिम सूचना टाँससमेत गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएको बताएको छ ।
प्रहरी प्रधान कार्यालयले गैरहाजिर प्रहरीलाई आफु कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन भनेको छ । तोकिएको समयभित्र हाजिर नभए वा स्पष्टीकरण चित्तबुझ्दो नदेखिए प्रहरी नियमावलीको नियम १०९, देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने चेतावनीसमेत जारी गरिएको छ ।
संगठनले पटक–पटक सम्पर्क प्रयास असफल भएपछि बाध्य भएर अन्तिम अल्टिमेटम जारी गरिएको जनाएको छ । पछिल्लो समय नेपाल प्रहरीमा अनुशासन र आचरण कडाइका साथ कार्यान्वयन गर्न थालिएको सन्दर्भमा यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
