काठमाडौं । अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत देशमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रा.लिका सञ्चालक सूर्यबहादुर डाँगीलाई पक्राउ गरेको हो ।
डाँगीले कलेज शुल्क र इन्स्योरेन्स पोलिसीको भुक्तानी छिटो र सहज हुने भन्दै आफ्नो कम्पनीको बैंक खातामा रकम जम्मा गराउन लगाई पीडितहरूलाई झुटो आश्वासन दिँदै विश्वासमा पारेर जम्मा रु २६ लाख ८ हजार ५६५ ठगी गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार उनले सम्बन्धित विश्वविद्यालय तथा इन्स्योरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै प्रमाण नदिई विभिन्न व्यक्तिबाट रकम संकलन गर्दै आएका थिए ।
उनलाई पुस ७ मा लैनचौर क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।
३५ वर्षीय डाँगी उदयपुर त्रियुगा नगरपालिका–११ ९परिवर्तित ६० जलजले स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्दै आएको प्रहरीले जनाएको छ।उनको साथबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, मोबाइल २ थान, कन्सल्टेन्सी तथा अन्य कम्पनीका छापहरू, करिब ५५ पाना कागजात र हिसाबकिताबका रजिस्टर २ थान बरामद गरिएको छ ।यस्तै यसअघि पनि उनी ३० लाख भन्दा बढीको चेक बाउन्समा पक्राउ परेका थिए ।
डांगी यसअघि पनि पटक पटक ठगीमा मुछिदै आएका व्यक्ति हुन् ।
