बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र यातायात व्यवस्था कार्यालय कलैयाको मिलेमतोमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) खुलेआम किनबेच भइरहेको तथ्य सार्वजनिक भएको छ।
घुस नबुझाएसम्म लिखित र ट्रायल परीक्षा जतिपटक दिए पनि फेल गरिने, तर बिचौलियामार्फत रकम बुझाएपछि सहजै लाइसेन्स हात लाग्ने गरेको पीडित सेवाग्राहीहरू बताउँछन्।
सेवाग्राहीका अनुसार मोटरसाइकलको लाइसेन्सका लागि १५ हजार, चार चक्के सवारीका लागि ३० देखि ३५ हजार र हेभी सवारीका लागि ५० हजारदेखि लाखौं रुपैयाँसम्म घुस बुझाएपछि मात्र लिखित र ट्रायल दुवै पास गराइने गरिएको छ।
यो अवैध असुली यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको प्रत्यक्ष संलग्नतामा बिचौलियामार्फत हुँदै आएको आरोप छ।
बारा जितपुरका एक युवकले मोटरसाइकल लाइसेन्सका लागि लिखित परीक्षा पहिलो पटकमै पास गरे पनि तीन पटक ट्रायल दिँदा पनि फेल भएको बताए।
तर, उनीसँगै परीक्षा दिएका अन्य व्यक्तिहरूले भने १५ हजार रुपैयाँ बुझाएर लिखित र ट्रायल दुवै सहजै पास गरेको उनको भनाइ छ।
उनले भने, ‘म १० वर्षदेखि मोटरसाइकल चलाउँदै आएको मान्छे हुँ। लिखित त पहिलो पटकमै पास गरेँ, तर ट्रायलमा पटक–पटक फेल गरियो। घुस नदिई लाइसेन्स लिनु यहाँ असम्भव जस्तै रहेछ।’
उनका अनुसार घुस नदिने अडानकै कारण एक वर्ष पछाडि धकेलिनुपरेको छ।
सई कार्कीको ‘सेटिङ’
यस अवैध कारोबारको केन्द्रमा ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) किरण कार्की रहेको आरोप छ। यातायात कार्यालय बाराका प्रमुख अबिन्दर दास र सई कार्कीले बिचौलियामार्फत रकम असुली गरी धमाधम लाइसेन्स बेच्दै आएको स्रोतहरूको दाबी छ।
सई कार्की ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी निरीक्षक दिपक केसीका विश्वासपात्र भएकोले ट्रायल सेन्टरमा उनको प्रभाव र दबदबा अत्यधिक रहेको बताइन्छ। स्रोतका अनुसार उनी जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बस्ने र त्यहीँबाट आर्थिक लाभ लिँदै आएका छन्।
सई कार्की यसअघि पर्सा र रौतहटका ट्रायल सेन्टरमा बसेर लाखौं रुपैयाँ असुली गरेको आरोपमा चर्चामा आएका थिए। उनको गतिविधि थाहा पाएपछि तत्कालीन मधेस प्रदेश प्रहरी प्रमुख वसन्त कुवरले उनलाई मधेस प्रदेशबाटै हटाएका थिए। तर, अहिले पुनः बारा ट्रायल सेन्टरमा सक्रिय भएपछि अवैध कारोबारले झन् खुला रूप लिएको कर्मचारीहरू बताउँछन्।
नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘यातायात कार्यालयमा प्रमुखपछि दोस्रो स्थानमा सई कार्कीको नै चल्छ। ट्रायल सेन्टरमा कसले पास हुने, कसले फेल हुने भन्ने धेरै हदसम्म उनीकै हातमा छ।’
लाइसेन्सजस्तो संवेदनशील विषयमा खुलेआम घुस र सेटिङ चलिरहँदा पनि सम्बन्धित निकाय मौन बस्नुले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ। सेवाग्राहीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
