बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् ।
त्रिभुवन राजपथ र हुलाकी सडक खण्ड अन्तर्गत पर्ने नितनपुर, जितपुर, सिमरा, पथलैया, अमलेखगंज, चुरीमाई मन्दिरको छेउमा, निजगढ, पिलुवा,कलैया,गण्डक, लग्डा चौक लगाएतको पोष्टहरुले सडकमा चल्ने भारतीय सवारीसाधनसँग र नेपाली म्याजिक, अटो , टाटा सुमो र ईभि गडीहरुबाट चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट विभिन्न उद्योगका लागि आयात हुने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र मातहत रहेको पोष्टहरु अवैध असुली गर्दै आएका छन् ।
ग्रामीण एरियाबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ ।
ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग हरनैया, लग्डा चौक र पसाहा पुलमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ ।
यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लुबुकलगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी भरेर छोड्ने गरेको छ ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले बारामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अवैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् नितनपुर, जितपुर, सुमरा र पथलैयामा ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा सबै युनिटका ट्राफिक प्रहरी इन्चार्जदेखि सिपाहीसम्म परिवर्तन हुने गरेका छन्।
दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको बाराको गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् ।
त्रिभुवन राजमार्ग र हुलाकी राजमार्ग सडक भएर आउजाउत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आतंकित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ ।
सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ ।
जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाराले बस,सुमो ,ईभि, म्याजिक र अटोको ईन्चार्जहरुसँग समन्वय गरि ठाऊठाऊ पार्किङ गराउनको लागि मोटो रकमको नजराना बुझि ठाऊ समेत उपलब्ध गराएको नाम नछाप्रने सर्तमा म्याजिक संघका एक सदस्यले यस अनलाइनलाई बताए।
ट्राफिक प्रहरीले मोटो रकमको नजराना बुझि जितपुर, सिमरा बजारको सडक छेउमा गाडीको पार्किङ लगाउन छुट दिएका छन्। निजि सवारीसाधनहरु पार्किङ गर्न बितिकै जरिवाना काटदै आएको गुनासो बढेको छ।
जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख एवम प्रहरी निरीक्षक दिपक केसीले जेन्जी अन्दोलनपछि ट्राफिक प्रहरीको मनोबल घटेकोले बाराको पथलैया बाहेक कुनै ठाऊमा ढाट लगाई अथवा भारतीय गाडीहरुसँग कुनै पनि पोस्टले सप्ताहिक, लागूऔषध र मापसे बाहेक कुनै पनि भारतिय नम्बरको सवारीसाधन संग चेकजाँच गर्दा नआएको बताए।
बारामा ट्राफिक प्रहरीले त्यसतो कार्य गरेको पाएमा ठाऊको ठाऊ कार्यबाही गर्ने बताए।

