सिन्धुली । कमलामाई–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको भान्सामा पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत आइतबार दिउँसो ४ बजे घरको भान्सामा आगलागी हुँदा सुशीलाको घटनास्थलमै मृत्यु भयो।
उनलाई बचाउन खोज्दा ससुरा दुर्गामान बोम्जन घाइते भए।
मृतक सुशीलाले बिहान ९ बजे आमा बुद्धिमायासँग रुँदै “मलाई मार्ने धम्की दिइरहेका छन्, लिन आउनु” भनेकी थिइन्। तर माइती पक्ष भोलिपल्ट लिन जाने तयारीमै रहँदा दिउँसो घटना घट्यो।
अनुसन्धानका क्रममा नन्द मीना बोम्जनले ५ लिटर पेट्रोल किनेर भान्सामा सुशीलामाथि खन्याई लाइटरले आगो लगाएको स्वीकार गरेको सिन्धुली प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले बताए। बयानमा हत्यामा परिवारकै साथ रहेको समेत खुलाइएको छ। घटनालगत्तै सासु मायारानी र मीना पक्राउ परेका छन्, दुर्गामान प्रहरी निगरानीमा उपचाररत छन्।
सुशीलाका बुवा प्रेमबहादुरले सासु, ससुरा र नन्दविरुद्ध किटानी जाहेरी दिएका छन्। मृतकका तीनजना तिम्ल्याहा सन्तानलाई मामाघरमा राखिएको छ। प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
