सिन्धुली । अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा अवैध हतियार बरामदमा साहसिक नेतृत्वदायी भूमिका निर्वाह गरेबापत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले इन्स्पेक्टर खड्कालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै कदरपत्रसहित नगद पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक दक्षता, लगनशीलता र कर्तव्यप्रतिको समर्पणका साथ शान्ति-सुरक्षामा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई यो सम्मान दिइएको एसपी सुवेदीले बताए।
इलाका प्रहरी कार्यालय डकाहाकी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते अवैध भरुवा बन्दुक लुकाएर राख्ने व्यक्ति पक्राउ परेका थिए। प्रहरी अपरेसनलाई योजनाबद्ध र जोखिमपूर्ण परिस्थितिमा समेत दृढतापूर्वक नेतृत्व गरेकी खड्काले त्यसपछि पनि अपराध अनुसन्धान र प्रहरी कारबाहीमा निरन्तर सक्रियता देखाएकी थिइन्।
इन्स्पेक्टर खड्काले विभिन्न कसूरमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
प्रहरी स्रोतका अनुसार, उनले दुधौली नगरपालिका-१४, गायोटार निवासी कूलबहादुर सुनुवार र मंगलबहादुर सुनुवारले आ–आफ्ना घरनजिकैको बनमारा झाडीभित्र फरक–फरक स्थानमा लुकाएर राखेका अवैध भरुवा बन्दुक फेला पार्दै सुनुवारद्वयलाई कानूनी दायरामा ल्याउन सफल भएकी थिइन्।
जोखिमपूर्ण फिल्ड अपरेसन, फरार प्रतिवादी पक्राउ र अवैध हतियारविरुद्धको कारबाहीमा देखाएको सक्रियताले उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। संगठनले दिएको जिम्मेवारीलाई लगनशील, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले निर्वाह गरेकै कारण उनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मानित गरिएको हो।
सम्मान घोषणापछि इन्स्पेक्टर खड्काले भनिन्, ‘प्रहरीको काम चुनौतीसँग भाग्ने होइन, सामना गर्ने हो। यो सम्मान मेरो एक्लो मेहनतको होइन, मेरो टिम र समुदायको सहकार्यको परिणाम हो। आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर नागरिक सुरक्षामा खटिनेछु।’
स्थानीय तहमा अपराध अनुसन्धान र हतियार नियन्त्रणलाई प्रभावकारी बनाउन इन्स्पेक्टर खड्काको भूमिका प्रेरणादायी र उदाहरणीय मानिएको प्रहरी अधिकारीहरूको भनाइ छ। प्रहरी संगठनले फिल्ड तहमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्दै मनोबल उच्च राख्ने नीति अन्तर्गत ‘Police of the Month’ सम्मानलाई निरन्तरता दिने जनाएको छ।
