काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी बृत्त गौशालामा कार्यरत नायब उपरीक्षक (डीएसपी) प्रकाश श्रीमललाई २०८२ साल मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Police of the Month) का रूपमा घोषणा गर्दै सम्मान गरेको छ।
परिसरले संगठनले दिएको जिम्मेवारीलाई लगनशील, कर्तव्यनिष्ठ र व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका खेलेको आधारमा डीएसपी श्रीमललाई उत्कृष्ट प्रहरीका रूपमा चयन गरेको जनाएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले डीएसपी श्रीमललाई प्रशंसापत्र प्रदान गर्दै उनको कार्यसम्पादनको उच्च प्रशंसा गरे। सम्मानपत्रमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाइँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल मंसिर महिनाको (Police of the Month) का रूपमा यो प्रशंसापत्र प्रदान गरिएको छ।’
प्रहरी संगठनभित्र फिल्ड तहमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन, मनोबल अभिवृद्धि र नागरिक–प्रहरी सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यका साथ (Police of the Month) सम्मानलाई निरन्तरता दिइने एसएसपी थापाले बताए।
डीएसपी श्रीमलको कार्यशैलीले अपराध अनुसन्धानमा व्यावसायिक नेतृत्व, सक्रिय अपरेसन र नागरिक सुरक्षा प्रतिको संवेदनशीलतालाई थप मजबुत बनाएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी र समुदायबीचको विश्वासलाई व्यवहारिक तहमा बलियो बनाउन उनले खेलेको भूमिकालाई उदाहरणीय र प्रेरणादायी मानिएको छ।
