धनकुटा । कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीलाई संगठनको गरिमा उच्च राख्न एकताबद्ध, अनुशासित र नागरिकमैत्री भएर काम गर्न निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा डीआईजी घिमिरेले कार्यालय भवन, सेवा प्रवाह प्रणाली, विभिन्न शाखा तथा हिरासत कक्षको सूक्ष्म अवलोकन गर्नुका साथै सुरक्षासम्बन्धी व्यवस्थापन र जनशक्ति परिचालनको अवस्थाबारे जानकारी लिएका थिए।
निरीक्षणपछि आयोजित सम्बोधनमा उनले प्रहरी सेवाको मूल आधार नै अनुशासन, इमान्दारिता, कानुनी आचरण र व्यावसायिक दक्षता भएको उल्लेख गर्दै प्रहरी संगठनप्रतिको निष्ठालाई व्यवहारबाटै प्रमाणित गर्नुपर्ने बताए।
सम्बोधनका क्रममा उनले भने, ‘प्रहरीको वास्तविक शक्ति एकता र नागरिकको विश्वास हो। त्यो विश्वास जित्न प्रहरी कर्मचारीले आफ्नो आचरण र कार्यसम्पादनलाई सदैव उच्च राख्नुपर्छ।’
उनले आम नागरिकप्रति सभ्य, शिष्ट र सम्मानजनक व्यवहार अपनाउन, नागरिकका समस्या, गुनासो तथा पीडापिरमर्कालाई निष्पक्ष, छिटो र पारदर्शी रूपमा सम्बोधन गर्न जोड दिए। सेवा प्रवाहलाई कार्यालयभित्र मात्रै सीमित नराखी समुदायस्तरमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने उनको भनाइ थियो।
डीआईजी घिमिरेले जिल्लाका डाँडा–पाखा तथा खुला क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका र लगाइएका गाँजाका बोटबिरुवा फडानी गरी नष्ट गर्न नियमित अभियान सञ्चालन गर्न निर्देशन दिए।
लागूऔषध ओसारपसार र अपराधजन्य गतिविधि नियन्त्रणका लागि २४ सै घण्टा प्रहरी परिचालन गर्न, लामो तथा छोटो दूरीका गस्तीलाई अझ प्रभावकारी बनाउन तथा नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सुरक्षा उपस्थिति मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।
आगामी निर्वाचनलाई सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी त्रुटिरहित रूपमा निर्वाह गर्नुपर्ने स्पष्ट सन्देश पनि उनले दिएका छन्। ‘निर्वाचन सुरक्षा हाम्रो क्षमताको मापन हो, यसमा कुनै कमजोरी देखिनु हुँदैन,’ उनले भने।
प्रदेश प्रहरी कार्यालयले सामुदायिक तहमा प्रहरी–नागरिक सहकार्यलाई थप सुदृढ गर्दै जनस्तरसम्म सुरक्षा चेतना, विपद् प्रतिकार्य तथा अपराध अनुसन्धानमा नागरिक सहभागिता अभिवृद्धि गर्ने रणनीति अनुसार निरीक्षण तथा निर्देशनलाई निरन्तरता दिइने जनाएको छ।
निरीक्षण भ्रमण समापन गर्दै डीआईजी घिमिरेले संगठनप्रतिको इमान्दार सेवा, नागरिकप्रतिको सम्मान र जिम्मेवारीपूर्ण परिचालन नै सुरक्षा सुदृढीकरणको मूल आधार भएको सन्देश दिएका छन्।
