काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिक र प्रहरीबीचको सम्बन्ध, सहकार्य तथा सामुदायिक सुरक्षा मजबुत बनाउन आजदेखि ‘हाम्रो प्रहरी’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ।
मंगलबार काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले कार्यक्रम शुभारम्भ गर्दै नागरिक–प्रहरी सम्बन्धलाई थप बलियो बनाई अपराध नियन्त्रण, अनुसन्धान, विपद् उद्धार, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन–चयन कायम गर्न सामूहिक ऐक्यबद्धता निर्माण गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको जानकारी दिए।
‘प्रहरीको काम अब कार्यालयभित्र मात्रै सीमित हुँदैन, हामी टोल–समुदाय, विद्यालय र समाजसम्म पुगेर नागरिकसँगै सुरक्षा चुनौतीको समाधानमा काम गर्नेछौँ,’ एसएसपी थापाले सम्बोधनका क्रममा भने।
परिसरकाअनुसार, काठमाडौं प्रहरीले आफू मातहतका हरेक प्रहरी कार्यालयमार्फत टोल, समाज र विद्यालय स्तरमा पुगेर ‘हाम्रो प्रहरी’ कार्यक्रम सञ्चालन गर्नेछ।
अभियानअन्तर्गत समुदायसँग प्रत्यक्ष संवाद, सचेतना कार्यक्रम, सुरक्षा परामर्श, अपराधसम्बन्धी सूचना संकलन, विद्यार्थी केन्द्रित सुरक्षा प्रशिक्षण, लागू औषध तथा साइबर अपराध सचेतना, विपद् प्रतिकार्य पूर्वतयारी, उद्धार समन्वय तथा प्रहरी सेवाबारे नागरिक गुनासोरसुझाव संकलन समेत गरिनेछ।
कार्यक्रमले प्रहरीप्रति नागरिकको भरोसा बढाउने, सुरक्षा सूचनामा समुदायको पहुँच सहज बनाउने, अपराधसम्बन्धी सूचना प्रवाहलाई छिटो बनाउने तथा प्रहरी–समुदायबीचको सम्बन्धलाई व्यवहारिक रूपमा सुदृढ गर्ने अपेक्षा गरिएको परिसरले जनाएको छ।
सामुदायिक सुरक्षामा नागरिक सहभागिता बढ्दा अपराध अनुसन्धान थप प्रभावकारी हुने र विपद् प्रतिकार्यमा समेत सामूहिक समन्वय मजबुत हुने विश्वास प्रहरी नेतृत्वले व्यक्त गरेको छ।
‘हाम्रो प्रहरी’ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने लक्ष्य राखिएको र यसमार्फत जनमैत्री प्रहरी सेवा, सामाजिक एकता र सुरक्षा सहकार्यमा नयाँ अध्याय थपिने एसएसपी थापाले बताए।
