रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निलेश पाठक २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविन कार्कीले असई पाठकलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै कदरपत्रसहित नगद पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक दक्षता, लगनशीलता र कर्तव्यप्रतिको समर्पणका साथ शान्ति-सुरक्षामा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई यो सम्मान दिइएको एसपी कार्कीले बताए।
असई पाठकले उच्च मनोबल, साहस र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै मंसिर महिनाभर जिल्लामा अनुसन्धान तथा अपरेसनतर्फ ठोस उपलब्धि हासिल गरेका छन्।
उनको नेतृत्वदायी सक्रियताकै कारण चन्द्रपुर नगरपालिका–६ बाट फरार प्रतिवादी रामेश्वर राउत पक्राउ परेका थिए। यस्तै, २०८२-०८-०९ गते चन्द्रपुर नगरपालिका–४ मा सवारी साधनको प्रतीक्षामा उभिएका दिनेश कुमार कोलीको साथबाट नक्कली गुट्खा ३ बोरा बरामद गरी आवश्यक अनुसन्धानसहित पक्राउ प्रक्रिया अघि बढाइएको थियो।
बजारमा अवैध वस्तुको आपूर्ति रोक्ने, फरार अभियुक्त समात्ने र अनुसन्धानमा तदारुकता देखाउने कार्यले प्रहरी संगठनको विश्वास र स्थानीय नागरिकको भरोसा अझ मजबुत बनेको एसपी कार्कीले उल्लेख गरे।
सम्मान ग्रहणपछि असई पाठकले भने, ‘यो पुरस्कार मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, सिंगो टिमको मेहनतको परिणाम हो। आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष र जनमैत्री सेवा प्रवाहमा समर्पित रहनेछु।’
उनको कार्यशैलीले जिल्लामा अपराध अनुसन्धानमा नयाँ उर्जा थपिएको प्रहरी संगठनका अधिकारीहरू बताउँछन्। स्थानीय तहमा प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ गर्न पाठकको सक्रियता उदाहरणीय र प्रेरणादायी बनेको समेत उनीहरूको भनाइ छ।
