सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ।
कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र पेट्रोल/मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशिला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे ।
आगलागीमा परी दुर्गामान बम्जन स्वयं दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेर घाइते भएका छन्। घाइते बम्जनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाईटर तथा बासको भाटामा सल बेरी बनाइएको राको (पुल्ठो) समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमै लाश जाँच मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको थियो।
घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५९ वर्षीया सासु माया रानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा मीना लामा (बम्जन) ले सुशिला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
यसैबीच, २०८२ साल ९ गते ७ गते मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले माया रानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको हो।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले भने,“घटनाबारे सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सासु र नन्दलाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी पेट्रोल छर्की आगो लगाई कर्तव्य ज्यान गरेको घटनाबारे थप अनुसन्धान भइरहेको छ।”
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
