काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनबारी तथा इडेन नेशनल बोर्डिङ स्कुल विराटनगरको समन्वय र सहकार्यमा “प्रहरीसँग एक दिन” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रत्यक्ष भ्रमण गराई प्रहरी संगठनको संरचना, कार्यप्रणाली तथा विभिन्न शाखाहरुबाट प्रदान गरिने सेवासुविधाको बारेमा जानकारी प्रदान गरिएको थियो।
भ्रमणका क्रममा विद्यार्थीहरुले नागरिक सहायता कक्ष, कार्य/विशेष/आनि शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष, उजुरी छानबिन शाखा, अपराध अनुसन्धान शाखा, CDR, प्रशासन शाखा, सामुदायिक प्रहरी शाखा तथा कन्ट्रोल रुमबारे जानकारी दिएको हाे।
सम्बन्धित शाखामा कार्यरत प्रहरी कर्मचारीहरुले प्रहरी सेवा लिने प्रक्रिया, उजुरी दर्ता गर्ने तरिका, आपतकालीन अवस्थामा प्रहरीको भूमिका, साइबर अपराध, लागुऔषध दुरुपयोग, बालअधिकार, महिला तथा ज्येष्ठ नागरिक संरक्षण, सामुदायिक प्रहरीको महत्व लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिई अन्तरक्रिया गरेका थिए।
साथै विद्यार्थीहरुले जिज्ञासा राखी प्रहरी कर्मचारीहरुसँग प्रत्यक्ष प्रश्न–उत्तर गर्ने अवसरसमेत प्राप्त गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरुमा प्रहरीप्रति सकारात्मक धारणा विकास गर्न, कानुनी सचेतना अभिवृद्धि गर्न तथा भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरणा मिलेको सहभागी विद्यार्थीहरुले बताएका छन्।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको व्यवहारिक ज्ञान वृद्धि गर्नुका साथै समाज र सुरक्षासम्बन्धी विषयमा बुझाइ थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आगामी दिनहरुमा पनि विद्यालय तथा समुदायसँग सहकार्य गरी यस्ता जनचेतनामूलक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
