कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रतिनिधि सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र बनाएको छ। प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले निर्वाचन सुरक्षाका लागि प्रहरी पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।
आइतबार धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डीआईजी रानाले राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेपछि सुरक्षा निकाय पनि जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहेको बताए।
उनले भने, ‘राजनीतिक दलहरू चुनावी प्रक्रियामा अघि बढे भने त्यसलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी प्रशासन पनि पूर्ण रूपमा तयारी अवस्थामा छ।’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेपछि प्रदेशभर सुरक्षा रणनीति तयार पारिएको डीआईजी रानाको भनाइ छ। निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा योजना लागू गरिने उनले जानकारी दिए।
प्रदेश प्रहरी कार्यालयले नागरिकको मतदान अधिकार सुरक्षित बनाउने, मतदातालाई निर्भीक वातावरणमा मतदान गर्न सक्ने अवस्था सिर्जना गर्ने र निर्वाचनलाई विश्वसनीय बनाउनेतर्फ विशेष ध्यान दिएको डीआईजी रानाले बताए।
