काठमाडौं । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लंघन गर्दै नेपालीहरूलाई लुकीछिपी क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा नेपाल प्रहरीले विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जनालाई पक्राउ गरेको छ।
लामो समयदेखि नेपाली नागरिकलाई प्रवेश दिई जुवा खेलाइरहेको गुनासो आइरहेका बेला प्रहरीले गएराति छापा मारेर नेपालीहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्र रहेको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको हो। राति करिब ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेका छन्।
छापामारीका क्रममा रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलस्थित क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नागरिकलाई रंगेहात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
