काठमाडौं । चितवन प्रहरीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाइएको छ।
इलाका प्रहरी कार्यालय चनौली, चितवनका प्रहरी निरीक्षक कल्पना सापकोटाले लागू औषधविरुद्ध अभियान जारी राखेको हाे।
लामो समयदेखि बढ्दै गएको लागूऔषध कारोबारलाई जरोदेखि उखेल्ने दृढ संकल्पका साथ अघि बढेकी सापकोटाको नेतृत्वले चनौली क्षेत्रमा अगाडि बढेको छ।
प्रहरी निरीक्षक सापकोटाले जिम्मेवारी सम्हालेसँगै लागू औषधलाई पहिलो प्राथमिकतामा राखेर रणनीतिक योजना बनाएकी छिन् ।
सूचनामा आधारित अपरेसन, गोप्य निगरानी र समुदायसँगको समन्वयलाई उनले अभियानको मुख्य आधार बनाइन्।
उनको नेतृत्वमा प्रहरी टोलीले दिन–रात नभनी फिल्डमा खटिँदै लागू औषध कारोबारमा संलग्न व्यक्ति, बिचौलिया र नेटवर्कको पहिचान गर्न थालेकाे हाे।
२०८२ मंसिर महिनाभित्र मात्र ई.प्र.का. चनौलीको कार्यक्षेत्रभित्र विभिन्न समय र स्थानमा गरिएको कडा निगरानी तथा विशेष सूचनाको आधारमा प्रहरीले ११ जना लागू औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेकाहरूको साथबाट १४.३५० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ, जसले संगठित रूपमा कारोबार भइरहेको पुष्टि गरेको प्रहरीको भनाइ छ।
त्यसैगरी ४३.१२० ग्राम गाँजा पनि बरामद गरिएको छ, जुन स्थानीय स्तरमै बिक्री वितरण हुँदै आएको आशंका गरिएको छ।
लागू औषधसँगै ट्रामाडोल ५० थान जफत गरिएको छ, जसको दुरुपयोग युवाहरूमा बढ्दो समस्याका रूपमा देखिँदै आएको छ।
बरामद सामग्रीमा नगद रु. ६०,७७७ समेत समावेश छ, जुन लागू औषध कारोबारबाट आर्जन गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले पोर्टेबल डिजिटल तराजु २ थान पनि बरामद गरेको छ, जसले लागू औषध नापतौल गरी बिक्री गर्ने संगठित अभ्यास रहेको छ।
मोटरसाइकल २ थान र स्कुटर १ थान समेत नियन्त्रणमा लिइएको छ, जसलाई लागू औषध ओसारपसारमा प्रयोग गरिएको प्रहरीको भनाइ छ।
