काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई विदेशबाट ज्यान मार्ने धम्की दिने समूहका मुख्य व्यक्ति पक्राउ परेका छन्। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ का नाइके भनिएका प्रकाश पाठक फिलिपिन्सको राजधानी मनिलामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेका हुन्।
उच्च स्रोतकाअनुसार पाठक हाल फिलिपिन्स पुगेको अवस्थामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई नेपाल ल्याएर कानुनी कारबाही अघि बढाउन नेपाल प्रहरीको विशेष टोली तयारी अवस्थामा रहेको जनाइएको छ। हस्तान्तरण प्रक्रिया पूरा हुन केही दिन लाग्ने प्रहरी स्रोतले बताएको छ।
उक्त समूहले मंसिरको दोस्रो साता अख्तियार प्रमुख राईलाई १० दिनको अल्टिमेटम दिँदै राजीनामा नदिए हत्या गरिने धम्की दिएको थियो। अख्तियारको आधिकारिक इमेलमा पठाइएको पत्रमा १० जनाको हत्या गर्ने योजना रहेको र त्यसमा राईको नाम समेत समावेश रहेको उल्लेख थियो। पत्रमा आफूलाई संगठन प्रमुख बताउने प्रकाश पाठकको हस्ताक्षर थियो।
इमेल तथा भिडियो सन्देशमार्फत ‘सुटरहरू तयार अवस्थामा रहेको’ र ‘परिवारका सदस्यसमेत सुरक्षित नरहने’ जस्ता गम्भीर धम्की दिइएको प्रहरीले पुष्टि गरेको छ। घटनाको जिम्मेवारी आफूहरूले लिने तर हत्या फरार कैदीमार्फत गराउने उल्लेखसमेत धम्कीपत्रमा गरिएको थियो।
प्रहरीले धम्की आएलगत्तै संलग्नहरूको पहिचान भइसकेको र लोकेसन ट्रयाक भइरहेको बताएको थियो। अख्तियार प्रमुखलाई लक्षित गम्भीर धम्कीपछि पक्राउ परेका पाठकलाई नेपाल ल्याएर थप अनुसन्धान र कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
