काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसन छनोट प्रक्रियामा यस वर्ष उल्लेखनीय सुधार गरेको छ। विगतमा पहुँच र भिआइपी कोटाका आधारमा हुने गरेको छनोट अन्त्य गर्दै संगठनले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई प्राथमिकता दिएर मिसनमा पठाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बलमा यूएन मिसनका लागि छुट्याइएको भनिँदै आएको भिआइपी कोटा यस वर्ष औपचारिक रूपमा खारेज गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको नेतृत्वमा उद्धार कार्य र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा मिसनमा सहभागी गराउने नीति कार्यान्वयनमा ल्याइएको हो।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उत्कृष्ट कार्यलाई भिआइपी कोटा भन्दै दबाब दिने पुरानो परिपाटी अन्त्य गरिएको छ। सोही अनुसार विपद् उद्धार तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई यूएन शान्ति मिसनमा सिधै सहभागी हुने अवसर दिइएको उनले जानकारी दिए।
मिसनका लागि छनोटमा परेकाहरूमा गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी जोखिमपूर्ण परिस्थितिमा निरन्तर उद्धारमा खटिँदै आएका कर्मचारी, ‘वर्ष जवान–२०८१’ घोषित प्रहरी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू समावेश छन्।
सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न स्थानमा १९ पटकसम्म खटिँदै १० जनाको जीवित उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए। उनले दुई जना विदेशी पर्यटकलाई पनि सकुशल उद्धार गरेका थिए।
यस्तै, सहायक हवल्दार भरत काफ्लेले इटहरीस्थित सेन्टर प्लाजामा भएको भीषण आगलागीमा फसेका ११ जनामध्ये ५ जनालाई रोप रेस्क्यु विधिबाट उद्धार गरेका थिए। उनी विभिन्न घटनामा २० पटक खटिँदै १५ जनाको शव निकाल्न सफल भएका छन्।
गोताखोर तालिम प्राप्त सहायक हवल्दार मेखबहादुर गुरुङले १७ भन्दा बढी तालिममा प्रशिक्षकका रूपमा योगदान पुर्याउनुका साथै विभिन्न दुर्घटनामा मृत्यु भएका २२ जनाको शव निकाल्ने कार्य गरेका छन्। आपत् विपद्मा निरन्तर उत्कृष्ट सेवा दिएका सहायक हवल्दार किरणबहादुर भण्डारी ‘वर्ष जवान–२०८१’ घोषित भइसकेका छन्।
खेलकुदतर्फ, नेपाल एपीएफ क्लबका बक्सर पुरन राईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र १ कास्य गरी १२ पदक जित्दै संगठन र देशको नाम उज्ज्वल बनाएका छन्। उनलाई पनि यूएन मिसनको अवसर प्रदान गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघको अनुरोधमा दक्षिण सुडानस्थित युनाइटेड नेशन्स मिशनमा फर्म्ड पुलिस युनिट (एफपीयू) मार्फत तैनाथ हुँदै आएको छ।
यसपटक पहुँच र सिफारिसभन्दा माथि उठेर कार्यसम्पादनलाई आधार बनाएर मिसन छनोट गरिँदा संगठनभित्र सकारात्मक सन्देश गएको सशस्त्र प्रहरी स्रोत बताउँछन्। उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय मिसनको अवसर दिइनुले सशस्त्र प्रहरीभित्र थप हौसला र प्रतिस्पर्धात्मक भावना बढेको छ।
