काठमाडौं । नेकपा एमालेका संगठन विभागका प्रमुख काशीनाथ अधिकारी सक्रिय राजनीतिबाट बिदा भएका छन् ।
सामाजिक सञ्जालमार्फत ६६ वर्षको उमेरमा अधिकारीले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने घोषणा गरेका हुन् ।
‘पचास बर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेँ। जति दिन काम गरेँ पुरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरेँ,’ उनले भने, ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो। नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ।’
उनले आफूले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते नगरेको बताए ।
‘सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरा गर्न सकिनँ। अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु’ अधिकारीले भने,‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु।’
एमाले नेता अधिकारीले लामो राजनीतिक जीवनमा आफूबाट भएका भूलचुकहरूप्रति क्षमा मागेका छन्।
